काठमाडौं, २१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले गरेको ज्यादतीका कारण जनताले एमाले नेतृत्वको सरकार सम्झन थालेको बताएका छन् ।

जनसंगठन समन्वय संयन्त्रको आयोजनामा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासनलमा जनसंगठनका अध्यक्षहरूसँगको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘गठबन्धनका नाममा मुलुकमा जे–जस्ता ज्यादती भैरहेका छन् त्यसबाट दिक्क भएर जनताले एमाले नेतृत्वको सरकार सम्झिन थालेका छन् । गठबन्धनका गतिविधिले अहिलेको सरकार जनता र देशको हितमा छैन भन्ने प्रष्ट भएको छ,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा निम्ति यो परीक्षा जस्तो पनि भएको छ । जनताले एमाले नेतृत्वको सरकार जनहितमा थियो भन्ने थप थाहा पाएका छन् ।’

बैठकलाई सम्वोधन गर्दै ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

देशभित्र र बाहिरका सबै शक्ति लगाउँदा पनि एमाले हराउन नसकेको स्मरण गराउँदै अध्यक्ष ओलीले भने,’ ‘यत्रो घेराबन्दी हुँदा पनि हामी एक्लै लडेर जीत हासिल गरेका छौं । हामी कमजोर होइनौँ । त्यसैले विजयी मानसिकताका साथ अगाडि बढ्नोस् ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धनले देशलाई बर्बाद बनाउने बाटोमा लागेको र मुलुकप्रति ध्यान नै दिन छाडेको बताए । उनले बजेट बनाउँदा सेटिङ गरेर अन्तर्राष्ट्रिय रूपमा कतै नभएको बेइमानी गर्दै राष्ट्रिय ढुकुटीमाथिको डकैती गरेको बताए ।