काठमाडौं, २१ असार । संघीय संसदको आगामी निर्वाचन र भातृसंस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

मंगलबारदेखि सुरु भएको पदाधिकारी बैठकमा मुख्यतः भातृ तथा शुभेच्छक संस्थामा देखापरेका समस्यादेखि मर्जसम्मका विषयमा छलफल भएको हो ।

प्रवक्ता प्रकाशशरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही विषयमा बैठक केन्द्रित भएको बताए ।

‘भातृसंस्थाका लागि निवेदन आएका छन्, केहीमा समस्यामा देखापरेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता महतले भने ।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सो बैठक उपाध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्यको पनि उपस्थिति रहेको थियो ।