जनकपुरधाम, २१ असार । धनुषा प्रहरीले जनकपुरधामबाट अपहरणमा परेको १५ दिनपछि एक बालकलाई अपहरणमुक्त गराउन सफल भएको छ ।

गत असार ६ गते अपहरणमा परेको भारतको सितामढी बैरगिनिया प्रखण्ड बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीलाई प्रहरीले अपहरणमुक्त गराएको हो ।

बालक अपहरणमा परेको सूचना पाए लगत्तै प्रहरीले खोजतलाश गर्दै जाँदा महोत्तरीको पिपरा गाउँपालिका–४ बाट मंगलबार फेला पारेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेले बालकको अपहरणमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएकोसमेत बताए ।

गत असार ६ गते साँझ जनकपुरधामस्थित भ्रमरपुरा चोकमा बालक खेलिरहेको बेला उनलाई एक महिलाले आफूसँगै लगेको सीसीटिभी फुटेज फेला पारेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो ।

अनुसन्धानको क्रममा अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी खातुनले छोरा पाउने लोभमा सोहनलाई अपहरण गरेको हुन सक्ने एसपी रजौरेले बताए । खातुनले १५ दिनसम्म सोहनलाई आफ्नै घरमा राखेकी थिइन् ।

खातुनको छोरा नभएकै कारण उनले सोही लोभमा सोहनको अपहरण गरेको एसपी रजौरेले जानकारी दिए ।

पक्राउ परेकी खातुन बिरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दा लगाएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।