मोरङ, १८ असार । मोरङको रंगेलीमा एक महिलाको आगो लगाएर हत्या गरिएको छ ।

शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका–१ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाई हत्या गरिएको हो ।

श्रीमतीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी श्रेष्ठले बताए ।

आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बस्थे ।

बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।