काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संघारमा पुगेको स्वीकार गरेका छन् ।

जसपानिकट गोरखा काठमाडौं सम्पर्क संयन्त्रको भेलालाई सम्बोधन गर्दै भट्टराईले जे लक्ष्य लिएर अघि बढेको हो त्यो प्राप्त नहुँदै तल पर्ने अवस्था आएको बताएका हुन् ।

उनले वैकल्पिक राजनीतिक यात्रामा अवरोध आएको संकेत गरेका हुन् । २०७३ सालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्तिको स्थापना गरे पनि अहिले बाटो बिराएर लक्ष्यविहीन अवस्थामा पुगेको भट्टराईको भनाइ छ ।

नयाँ शक्ति निर्माणदेखि जनता समाजवादी पार्टीसम्म आइपुग्दा वालुवाको घर बनाए जस्तो भएको भट्टराईको टिप्पणी छ । समाज रुपान्तरणको अभियान रातारात पूरा नहुने भएकाले समयअनुसार पटक पटक परीक्षण गर्नुपरेको उनको भनाइ छ ।

वैकल्पिक राजनीतिको दोकान खोल्ने चलन बढेकोप्रति भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस र कम्युनिस्टको विकल्प दिनुपर्ने भएकाले आफूले नयाँ शक्तिको अवधारणा ल्याए पनि सोचेजस्तो सफल हुन नसकेको भट्टराईले बताए । तर आफ्नो अवधारणा गलत नभएको उनको जिकिर छ । केही मुद्दामा समानता देखेर पुराना पार्टीसँग सहकार्य गर्दा असफल भएको उनको ठहर छ ।