जनकपुरधाम, १७ असार । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा मधेस प्रदेशमा विपद्का घटनामा परी ५०१ जनाको मृत्यु भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका १ हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको मृत्यु भएको हो ।

सो अवधिमा भएका विपद्का घटनामा परी २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका छन् । यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

सो अवधिमा ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने ७ हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका २ लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिए । यस क्रममा २० करोड २७ लाख राजश्व संकलन भएको छ ।

यस्तै सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरुबाट १५ थान हतियार बरामद भएको प्रवक्ता कार्कीले बताए । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १ हजार ३६७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाजा ३ हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेश ५१ किलो, हेरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित १ हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।