काठमाडौं, १७ असार । पूर्वसञ्चारकर्मी रवि लामिछाको पार्टी चुनाव चिह्न गोलाकारभित्र घण्टीसहित निर्वाचन आयोगमा दर्ता भएको छ ।

लामिछानेले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो पार्टी निर्वाचन आयोगमा, राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराएका हुन् ।

निर्वाचन आयोगमा आफ्नो दल औपचारिक रुपमा दर्ता भएको र आयोगबाट प्रमाणपत्र पनि पाएको उनले बताए । उनले अब जनताको बीचमा आफ्ना एजेण्डा बोकेर जान सहज हुने सुनाए ।

उनले भने, ‘राजनीतिक दल दर्ता भएको छ । अब जनताको बीचमा जानुपर्ने हुन्छ, हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना एजेण्डाहरुलाई जनताको माझमा भन्दै जान्छौं ।’

लामिछानेले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनको पार्टीको केन्द्रीय समिति २१ जनाको रहेको छ ।

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध उजुरी परेको थियो ।

रविको पार्टीविरुद्ध परेको उजुरीको कुनै औचित्य नभएको भन्दै निर्वाचन आयोगले उक्त उजुरीलाई खारेज गरेको छ ।