काठमाडौं, १७ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुईजना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका–५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजु बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

महाराजगञ्जबाट खटिएको सीआईबीको ब्यूरोले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो ।

दुवैजनाले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर बैंकको चेकहरु आ–आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।