जनयुद्धका ९५ जना शहिदको परिवारलाई एक लाखको दरले आर्थिक सहयोग

सिरहा, १७ असार । मधेस प्रदेश सरकारले सिरहामा जनयुद्धका ९५ जनाको परिवारलाई एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ ।
प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा शुक्रबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री मातृका प्रसाद यादव, मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई प्रमाणपत्र र एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता यादवले जनयुद्धका शहिदलाई संघीय सरकारले उचित सम्मान गर्न नसकेको गुनासो गरे । जनयुद्धकै बलमा मुलुकमा परिवर्तन आएपनि संघीय सरकारले जनयुद्धका शहिदलाई अझै शहिदको रुपमा स्वीकार गर्न तयार नरहेको बताउँदै यादवले शहिद घोषणा गराउन संघर्ष गर्नुपर्ने बताए ।
उनले मधेस प्रदेश सरकारले जनयुद्ध दिवस र शहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग गर्नु स्वागतयोग्य कार्य भएको बताए ।
गृह तथा सञ्चारमन्त्री साहले शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताए । प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भत्ता र शहिद परिवारका छोराछोरीलाई छात्रबृति दिन लागेको उनले जानकारी दिए ।
जनयुद्धका शहिदहरुको इतिहासलाई सुरक्षित गर्न र उनीहरुका परिवारको सम्मानका लागि जनयुद्ध संग्रहालय बनाउने योजना रहेको बतायँदै उनले यसका लागि प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक बर्षको बजेटमा रकम बिनियोजना गराउने बताए ।
गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताउँदै मन्त्री साहले जल विद्युत आयोजनामा शहिद परिवारलाई शेयर सदस्य बनाउने योजनासमेत बनाउन लागेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


