महोत्तरी, १७ असार । महोत्तरीमा अख्तियारको नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्वर–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीनैजनालाई पक्राउ गरिएको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा तीनै जनालाई प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ५ हजार ८ सय भारु बरामद गरेको छ ।