जनकपुरधाम, १६ असार । मधेस प्रदेश सरकारले प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रस्तावित दुबै मस्यौदा स्वीकृत गरेको हो ।

आमसञ्चार प्राधिकरण जनकपुरधामद्वारा प्रस्तावित दुबै मस्यौदा गृह तथा सञ्चार मन्त्रालयबाट मन्त्रीस्तरिय निर्णय भई अर्थ मन्त्रालय र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय समेतबाट स्वीकृती प्राप्त गरी पुन: मन्त्रीस्तरीय निर्णय भई स्वीकृतीका लागि असार ८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता गरिएको थियो ।

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि स्वीकृत भएपछि मधेस प्रदेशमा सञ्चालित मापदण्ड पुगेका पत्रपत्रिका, एफ.एम/रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्ने भएका छन् । त्यस्ता विज्ञापन एवम् सूचनाहरु सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरेवापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिए बमोजिम भुक्तानी उपलब्ध गराईने आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।

लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्य आवश्यक प्रक्रिया पुर्याए अविलम्ब सञ्चालन गरिने उनले बताए ।

यसैगरी पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि अनुसार मधेस प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरु बीमा कार्यक्रमको लाभ लिने बाटो खुलेको छ ।

बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च पाउनेछन् भने सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिनेछ ।

उक्त कार्यक्रम समेत यसै आर्थिक वर्षदेखि लागु गर्ने तयारी थालिएको अध्यक्ष यादवले बताए ।