काठमाडौं, १६ असार । नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिएको नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् । आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताइन् ।

उनले भनिन्, ‘आजको बैठकमा नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ ।’

उनका अनुसार प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो भन्ने विषयमा समावेश गरिएको छ ।

गठबन्धनका दलहरुसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा के भयो के भएन भन्ने विषय पनि समावेश गरिएको उनको भनाइ छ । उनले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताइन् ।