सप्तरी, १६ असार । सप्तरीमा खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सात पसललाई जरिवाना गरिएको छ ।

बिहिवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा राजविराजका पसलमा अनुगमन गरेर कारवाही गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको जानकारी दिए ।

मूल्यसूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई २० हजारका दरले र गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई ५ हजारका दरले जरिवाना तोकिएको छ ।

यस्तै अनुगमनमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिदबिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँ जरिवाना गरिएको खत्बेले जानकारी दिए ।