पर्सा, १६ असार । प्रहरीले पर्साबाट मध्यरातमा जलाउँदै गरेको एक किशोरीको शव नियन्त्रणमा लिएको छ ।

जिल्लाको बहुदरमाई नगरपालिका–७ विश्रामपुरकी १४ वर्षीया बालिकाको शव आधा जलिसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार घटनास्थलबाट तीनजना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ चलिरहेको छ ।

आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएपछि प्रहरीको टोली खटिएको थियो ।

घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागेको र तीनजना महिला पक्राउ परेको उनले बताए ।

प्रहरीले सोधपुछ गरिरहेका मध्ये एक जना नाबालिग पनि छन् । उनीहरू एकै परिवारका हुन् ।

सुरूमा प्रहरीलाई आत्महत्या गरेको भन्ने खबर आए पनि त्यो पुष्टी नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रहरीले मृतकको परिचय खुलाएको छैन ।

प्रहरीले शवको पोष्टमर्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको छ । शवको ५० प्रतिशत भाग जलेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको र घटनामा संलग्न पुरूषहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।