जनकपुरधाम, १६ असार । मधेस प्रदेश सरकारले मधेस आन्दोलन र जनयुद्धका शहीद परिवारलाई भरणपोण वापत मासिक २१ हजार रुपैयाँ दिने भएको छ ।

गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेशी शहीद प्रतिष्ठानले शहीद परिवारलाई भरणपोण वापत सो रकम दिन लागेको हो ।

त्यस्तै शहीदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको प्रतिष्ठानले जनाएको छ ।

भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर मासिक अधिकतम २१ हजार रुपैयाँका दरले दिने प्रतिष्ठानले निर्णय गरेको छ ।

शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने भएको छ ।

भरणपोषण तथा छात्रवृत्तिका लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन शहीद परिवारहरुलाई आह्वान गरेको थियो ।

यस्तो सुविधा मधेश आन्दोलन र जनयुद्धमा शहीद भई नेपाल सरकारबाट समेत शहीद घोषणा भएकाको परिवारले मात्र पाउने छन् ।