जनकपुधाम उपमहानगरले पहिलोपटक मनायो धान दिवस

जनकपुरधाम, १५ असार । जनकपुधाम उपमहानगरपालिकाले पहिलोपटक धान दिवस मनाएको छ ।
१९ औं राष्ट्रिय धान दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले बुधबार ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ वडा नम्बर– २० स्थित नोचा पोखरी नजिक धान रोपेर धान दिवस मनाएको हो ।
नगरप्रमुख मनोजकुमार साहले उपमहानगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ । त्यसमा नियन्त्रण सहितका सर्वाधिकार नेपाल सरकारको छ । डिलरबाट किसानसम्म पुर्याउन उपमहानगरपालिकाले सहजता मात्र गर्न सक्छ । त्यसका लागि उपमहानगरले डिलरलाई चाँडोभन्दा चाँडो मलखाद्य उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।’
मेयर साहले जनकपुरधाम उपमहानगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेकोसमेत जानकारी दिए ।

यसका साथै माटो परिक्षणको कार्यक्रम समेत अगाडि बढाउने, उपमहानरले तयार पारेको प्रतिवेदनको आधारमा खाद्य वस्तुको उत्पादनमा जोड दिनुका साथै किसानहरुलाई अनुदानमा धान काट्ने, हाते टयाक्टर, अन्नबाली भित्राउने मेसिन सम्भव भए निशुल्क उपलब्ध वा अनुदानमा उपलब्ध गराउने कार्यक्रम पनि आगामी आर्थिक वर्षमा समेटिएको जानकारी मेयर साहले दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले उपमहानगरभित्र कृषि उत्पादकत्व बढाउन उपहानगरले किसानलाई सहज हुने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी मेयर साह र प्रमुख प्रशासकीय अधिकृत उपाध्यायसहित उपमहानगरपालिकाका कर्मचारी सो क्षेत्रका एक दर्जनभन्दा बढी किसानहरुले धान रोपेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


