जनकपुरधाम, १५ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका युवाहरुको समुचित व्यवस्थापनका लागि सरकार अग्रसर रहेको बताएका छन् ।

महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेस प्रदेश युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर भएको उल्लेख गरेका हुन् ।

देशमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको बताउँदै उनले प्रदेशमै रोजगारी सिर्जनाको लागी पहल भइरहेको बताए । उनले मधेस सरकार प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढेपनि संघ सरकारको कृदृष्टिका कारण हालसम्म सफल हुन नसकेको गुनासोसमेत सुनाए । उनले प्रहरी, प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत व्यक्त गरेका छन् ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको मुख्यमन्त्री राउतले बताए ।

युवाहरुको सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव रहेको उनको भनाइ थियो ।

महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतमा भएको सम्मेलनको उद्घाटन सत्रमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मञ्जु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।