जनकपुरधाम, १५ असार । नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । यसवर्ष पनि देशैभरी ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ १९ औँ धान दिवस मनाइँदै छ ।

दिवसको अवसरमा मधेस प्रदेश सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरु खेतखेतमै पुगि धान रोपेर धान रोपाईको शुभारम्भ गरेका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । यस प्रदेशमा अहिलेसम्म चैते र बर्षे दुबै मिलाएर १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन भएको छ ।

देशभरी राष्ट्रिय धान दिवस मनाईरहँदा मधेस प्रदेशमा अहिलेसम्म ३.५१ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिए ।

मन्त्रालयका अनुसार मधेस प्रदेशमा अहिलेसम्म बारा जिल्लामा सबैभन्दा बढि धान उत्पादन भएको छ । कुल ६१ हजार १२५ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ५९ हजार ३८१ मेट्रिक टन धान उत्पादन भएको हो । त्यहाँ यसवर्ष प्रतिहेक्टर ४.२४ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।

यस्तै पर्सा जिल्लामा कुल ३८ हजार ५७० हेक्टर खेतीयोग्य जग्गामा कुल १ लाख ६१ हजार ६९६ मेट्रिक टन धान उत्पादन भएको छ ।पर्सामा प्रतिहेक्टर ४.१९ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

सप्तरीमा ५७ हजार ३०४ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा १ लाख ७० हजार ९०१ सय मेट्रिक टन धान उत्पादन भएको बताईएको छ । त्यस जिल्लामा प्रतिहेक्टर २.९८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको पालले बताए ।

सर्लाहीको ४४ हजार ७ सय हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.३२ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ४८ हजार ४९० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

धनुषामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.२१ प्रतिशतको हिसाबले कुल १ लाख ७३ हजार २२० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, महोत्तरीमा ५१ हजार २ सय हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.७३ प्रतिशतको हिसाबले कुल १ लाख ९० हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको हो ।

सिरहामा ५८ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.४१ प्रतितको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको बताईएको छ ।

यस प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यहाँ ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर २.९६ प्रतिशतको हिसाबले १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ ।

यता, मल खाद्यको आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको उनीहरुको गुनासो छ ।

धान उत्पादन उल्लेखनीय रुपमा हुनेमा समेत किसानहरु आशावादी छन् । मौसमले यस वर्ष साथ दिएपनि किसानहरु मलको अभावमा मर्कामा परेका छन् । मधेस प्रदेशमा सिंचाईको अभाव रहेकोे समयमा जसोतसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ ।