आज १९ औँ राष्ट्रिय धान दिवस मनाइँदै

जनकपुरधाम, १५ असार । आज १९ औँ राष्ट्रिय धान दिवस । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस मनाइँदैछ । हरेक वर्ष असार १५ गते दही चिउरा खाएर यो दिवस मनाउने गरिन्छ ।
देशका विभिन्न ठाउँमा रोपाइँ महोत्सव लगायत कार्यक्रम भइरहँदा कृषि विभागले भने दिवसको अवसरमा खुमलटारमा कार्यक्रमको आयोजना गरेको छ ।
सरकारले २०६१ साल मंसिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । खेतिपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पनि आज दही चिउरा खाएर असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् ।
देशको आर्थिक वृद्धिदरको आधार नै धानको उत्पादन रहेको नेपालमा वर्षेनी १५ लाख हेक्टर जमिनमा झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर, पछिल्लो समय धानको उत्पादन घट्दै गएको छ ।
चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । जसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


