जनकपुरधाम, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा धनुषाका युवाहरुले वृक्षारोपण गरेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उत्तरीबेल्टमा पर्ने केशरदमारमा २ हजार ५ सय, सिरहाको कर्जन्हा नगरपालिकाको बाबा तालमा २ हजार ५ सय र महोत्तरीको पिपरामा ५ सय विरुवा रोपेका हुन् ।

सेभ द चिल्ड्रेन, कायापलट र रतौली युवा कल्बको आयोजनामा तथा धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिका, महोत्तरीको पिपरा गाउँपालिका र नेपाल आदिबासी जनजाति महासंघ मधेस प्रदेशको सहकार्यमा वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपणमा विभिन्न प्रजातिका रुखहरु रोपिएको छ भने चुरे र चुरे संरक्षणमा सरोकारवालालाई उत्तरदायी बनाउन चुरे संरक्षणको अभियानलाई निरन्तरतासमेत दिइएको छ ।

विश्व वातावरण दिवसमा शुभारम्भ गरिएको चुरे बचाऔँ अभियानले सरकार तथा अन्य साझेदारीमा एक लाखबढि वृक्षारोपण गरेको कायापलटका अध्यक्ष दिवाकर उप्रेतीले बताए । उप्रेतीले भने, ‘चुरेसँग तराईको भु–भाग मात्र जोडिएको छैन् । यससँग समग्र जिविकोपार्जन तथा जिवन जोडिएको छ । यसलाई संरक्षण नगरे मानव अस्तित्व नै समाप्त हुनेछ ।’

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक समयमा एकैसाथ ३ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बालबालिकाको सहभागितासँगै उनीहरुलाई वातावरण संरक्षण तथा अहिलेको जलवायु संकटबारे पनि जानकारी गराएको सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्णले बताए ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बिन्दा पाण्डेले दलित समुदायले महिलाहरुसँगै बालबालिकालाई पनि रुखको महत्व बुझाउदै जिम्मेवार बनाउनु पर्ने आवश्यकता रहेको बताईन् ।

उनीसँगै गाउँपालिकाकी दलित महिला कार्यपालिका सदस्य शोभा देवी दासले पछिल्लो समय बढ्दै गएको प्रदुषण र रुख मास्ने प्रवित्तिले बालबालिका तथा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको बताईन् ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिसहित तिन जिल्लामा ३०० बढिको सहभागीता रहेको थियो भने महोत्तरीमा दलित महिला तथा बालबालिकाको सहभागिता रहेको थियो ।