काठमाडौं, १४ असार । नेकपा राष्ट्रिय एकता पार्टीका अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धराशयी बनेको बताएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशयी बनेपछि नयाँ राजनीतिक दल खोल्नुपरेको बताएका हुन् ।

आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुमत ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसभा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए ।

यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।