मधेस प्रदेश : खेलकुद मन्त्रालयले भोलिदेखि ‘मधेस प्रदेश युवा महोत्सव’को आयोजना गर्दै

जनकपुरधाम, १४ असार । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशले पहिलो पटक ‘मधेस प्रदेश युवा महोत्सव’को आयोजना गर्न लागेको छ ।
‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ असार भोलि र पर्सी मन्त्रालयले युवा महोत्सव आयोजना गर्न लागेको हो ।
हालसम्म राष्ट्रिय स्तरमा मात्र युवा महोत्सव कार्यक्रमहरू आयोजना भइरहेको अवस्थामा स्रोत र साधनको पहुँचमा नभएका र मूलधारमा नसमेटिएका मधेस प्रदेशका युवाहरूका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गहरूमा अभिभुखिकरण प्रदान गर्न यो महोत्सव फलदायी हुने महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले विश्वास व्यक्त गरेका छन् ।
मधेसका युवाहरूको सीप र दक्षता पहिल्याउने, मधेस प्रदेशको सम्भावना, अवसर र चुनौतीका बारेमा सर्वपक्षीय विमर्श गर्ने, प्रदेशलाई देशकै विशिष्ट प्रदेश बनाउनका लागि पहलकदमी लिन आम युवालाई प्रेरित गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको मन्त्री सिंहले बताए ।
यस कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाहरू, १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १ हजार २७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय सरकारलाई यस महोत्सवका बारेमा सूचना सम्प्रेषण गरि प्रदेशबाट युवाहरूको सहभागिता गराउने योजना रहेको उनले बताए ।
दुई दिनसम्म चल्ने यस महोत्सवको पहिलो दिन मधेस प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने तथा दोस्रो दिनमा प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरिने मन्त्री सिंहले बताए ।
महोत्सवमा मधेसका मौलिक संस्कृति तथा परम्परालाई स्थानीय कलाकारहरूको अग्रसरतामा सांस्कृतिक कार्यक्रम मार्फत प्रस्तुत गर्नुका साथै मधेसका चिनारीका बारेमा निर्माण गरिएका उत्कृष्ट पाँच श्रव्य दृष्य सामग्री प्रदर्शन गरिने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


