सप्तरी, १३ असार । सप्तरी प्रहरीले चोरी मुद्दामा फरार रहेका तीन आरोपीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक तेर्हौता गाविस–६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

करिब ९ वर्षअघि ना ४ ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक २०७१ को फैसलाको आधारमा तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

गाउँघरमै लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनालाई अदालतले जनही ४ हजार ४०८ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ ।