काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष नेपाललाई उनले यसअघि नै आफूले २४ घण्टाभित्र राजीनामा दिने बताएका थिए ।

आलेले नेपाललाई आफ्नो राजीनामा पत्र बुझाए पछि यसबारे नेपालले थप निर्णय लिने बताइएको छ ।

नेपालनिकट एक नेताका अनुसार अब नेकपा एकीकृत समाजवादीका अन्य मन्त्रीहरुको पनि राजीनामा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीहरु नियुक्त गर्नेछन् ।

आइतबार साँझसम्म वा सोमबार दिउँसोसम्म नयाँ मन्त्रीहरुले सपथ लिने उनले दाबी गरेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि आलेसहित सरकारमा सहभागी ४ मन्त्री र ६ सांसदले संसदीय दलको बैठक बोलाउनु पर्ने माग राख्दै नेपाललाई ज्ञापन पत्र बुझाएका थिए ।
सरकारमा रहेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुलाई नहटाउन अनुरोध गर्दै आएका छन् । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुले पार्टीबाट भएको निर्णय मान्नु पर्ने बताउँदै आएका छन् ।