सिरहामा आफ्नै साथीले ख्यालख्यालमै गोली चलाउँदा एक युवक गम्भीर घाइते

जनकपुरधाम, १२ असार । सिरहामा आफ्नै साथीले ख्यालख्यालमै गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्लाको लहान नगरपालिका-२२ स्थित बेल्ही टोलमा स्थानीय रविन चौधरीको घरमा गोली चल्दा सोही ठाउँ बस्ने १८ वर्षीय दिलिप मुखिया गम्भीर घाइते भएका हुन् ।
आइतवार बिहान करिब पौने ९ बजेको समयमा चौधरीको घरको १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेकोमा ख्याल–ख्यालमै सुशान्तले गोली चलाउँदा दिलिपलाई लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।
दिलपको पेटभन्दा माथीको भागमा गोली लागेकोले उनको अवस्था गम्भीर रहेको र उपचारको लागि धरान पठाइएको डीएसपी बुढाथोकीले बताए ।
घटना पश्चात प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ भने उक्त घरबाट नाम नखुलेको पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोकाबएक थान बरामद गरेको छ ।
सुशान्तको घर नजिकको बाँसबारीबाट कटुवा पेस्तोल एकथान, त्यसमा लाग्ने गोली पाँच राउन्ड, गोली फायर भएको बन्दुकमा लाग्ने गोली चार राउन्ड बरामद भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


