महोत्तरी, १२ असार । महोत्तरी सदरमुकाम जलेश्वरमा एक घरबाट लाखौंको गरगहना चोरी भएको छ ।

जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गरगहनासहित २० लाखको धनमाल चोरी गरेको हो ।

स्थानीय दिलीपकुमार मिश्र सपरिवार असार ६ गते भारतको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाएर गरगहना चोरी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।

चोरी घटना विषयमा अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।