काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
शुक्रबार महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।
आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब ५ करोड १ लाख ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन् ।
उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरिएको बताइन् ।
उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको बताइन् ।
उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको श्रोत सुनिश्चित भएको पनि बताइन् ।
उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन् ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १६ अर्ब २६ करोड २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तियतर्फ १८ करोड रुपैयाँ गरी कुल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


