काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलाको विवाहयोग्य उमेर २० वर्षबाट झार्नु नहुने बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले महिलाको विवाहयोग्य उमेर २० वर्षबाट तल झार्नु नहुने बताएकी हुन् ।

उनले विवाहयोग्य उमेर २० वर्ष पु¥याउनका लागि महिलाले थुप्रै संघर्ष गर्नुपरेको उल्लेख गर्दै संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताइन् । उनले छोरीले आफ्नो जिम्मेवारी वहन गरेर र आफ्नो खुट्टामा बाँच्न सक्ने नहुन्जेलसम्म अभिभावकहरूले विवाह गरिदिनु नहुने बताइन् ।

सांसद गैरेले विवाहका लागि उमेर नघटाउनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण पनि गराइन् । उनले पार्टी सरकारमा छ भन्दैमा जनताको प्रतिनिधि गैरजिम्मेवार हुनु नहुने बताइन् । मूल्यवृद्धिलाई न्यूनीकरण गर्नका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताइन् ।