सर्लाहीमा एक युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

सर्लाही, १० असार । प्रहरीले सर्लाहीमा एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको कविलासी–८ बस्ने मृतकका भाई करिब २१ वर्षीय अमरकान्त ठाकुर र रुपेश कुमार चौधरी रहेका छन् ।
मंगलबार बिहान सर्लाहीको कबिलासी नगरपालिका–८ अर्गवास्थित अर्गवा चौकबाट पश्चिम सलेमपुर नहर जाने कच्ची सडकको नजिकमा रहेको कुलोमा स्थानीय २४ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको थियो । युवकको शव घाँटी धारिलो हतियारले काटिएको अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा नेपाल प्रहरीले कुकुर सहितको टोलीले घटनास्थलको अवलोकन, घटनास्थल वरपरका स्थानीय मानिस तथा घटना सम्बन्धी देख्ने, सुनी बुझी प्रविधियूक्त विश्लेषण गर्दा घटनामा मृतकको सहोदर भाइकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
मृतकका भाइ र भाइको साथीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान गर्दा घटनाभन्दा एकदिन पूर्व अमरेन्द्र र अमरकान्तबीच बादबिवाद भएको खुलेको हो ।
बादविवादपछि अमरकान्तले आफ्नो साथी रुपेशसँग मिलेर दाईलाई मार्नु पर्छ भनि योजना बनाएर राति करिव ८ बजे अमरेन्द्रलाई खानपिनको व्यबस्था छ भन्दै टेलीफोनमार्फत बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको प्रवक्ता बुढाथोकीले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


