पर्सा, १० असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपमहानगरले चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार अर्थात ३७.९६ प्रतिशत रकम छुट्याएको हो ।

वीरगञ्जको ११ औँ अधिवेशनमा उपप्रमुख ईम्तियाज आलमले औद्योगिक तथा ‘व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेका थिए ।

महानगरले आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।

यस्तै क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ ।