जनकपुरधाम, ९ असार । धनुषा प्रहरीले आफ्नै श्रीमतिको हत्या गरी फरार रहेका बुवाछोरालाई ८ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–८ नाथपट्टी बस्ने रामचन्द्र मण्डल खत्वे र उनका बुवा सहदेव मण्डल खत्वे रहेका छन् ।

गत कार्तिक ३० गते राति रामचन्द्र र सहदेवले रामचन्द्रकी ३५ वर्षीया श्रीमति गौरी देवी मण्डललाई घाँटी थिचेर हत्या गरी फरार भएका थिए ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–५ बस्ने मुनेश्वर मण्डलको श्रीमति तेतरी देवी मण्डल (मृतकको आमा) ले रामचन्द्रलाई विपक्षी बनाई ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा ईलाका प्रहरी कार्यालय यदुकुहामा जाहेरी दरखास्त दिएकी थिइन् ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा भारतको लदनिया थाना (पञ्चायत) तेनुवाही गाउँमा लुकीछिपि बसिरहेको भन्ने सूचनाको आधारमा बुधबार उनीहरु भारततर्फबाट सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर–३ वरियारपट्टी चौकतर्फ हिंडडुल गर्दै आइरहेको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका उनीहरु दुबैजनालाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।