काठमाडौं, ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।

’मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ’, उनले भने । आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए ।

उनले टंकप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । ’टंकप्रसाद आचार्यलाई २००७ सालको क्रान्ति लगत्तै मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए ।