एसपीपी स्वीकृत गर्ने काम ओली नेतृत्वको सरकारले गरेको प्रचण्डको दाबी

काठमाडौं, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग भएको दाबी गरेका छन् ।
अध्यक्ष दाहालले सन् २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो प्रोग्राम अघि बढेको र २०१९ सालमा त्यसमा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमती गरेको पत्र भेटिएको भन्दै ओली नै त्यसमा जिम्मेवार देखिएको बताएका हुन् ।
बिहीबार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिरसमेत गरे । तर, ओली गुटले सत्तारुढ गठबन्धनले सो प्रोग्राम अघि बढाए जसरी प्रचार गरेर झुट र बेइमानी गरेको उनको आरोप थियो ।
अध्यक्ष दाहालले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको सोसम्बन्धी पत्रमा रक्षामन्त्रीको निर्देशनअनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने तर्कसमेत गरे ।
अध्यक्ष दाहालले एमसीसी सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै संसदबाट त्यसमा १२ बुँदे घोषणा गराएको दोर्होयाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


