सप्तरी, ९ असार । सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना ५ ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको हो ।

नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नाउव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।

दुर्घटनापछि बसका चालक फरार छन् । यात्रुबाहक बस अनियन्त्रित भइ सडकभन्दा २० फिट तल खसेको प्रहरीले जनाएको छ ।