जनकपुरधाम, ९ असार । रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आज दिल्लीबाट जनकपुरधाम आइपुगेको छ ।

भारतीय रेलले सुरु गरेको ‘भारत गौरव पर्यटक रेल’ धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो ।

रामायण सर्किटको धार्मिक सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित ४९९ तीर्थयात्री बोकेर सो रेल आज जनकपुरधाम आइपुगेको छ ।

१८ दिनको यात्रा अन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल’ बिहिवार दिउँसो करिब पौने २ बजे जनकपुरधाम पुगेको छ ।

गत मंगलबार साँझ नयाँ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा हरियो झण्डा देखाएर सो रेलको उद्घाटन गरेपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउन जनकपुरधामका लागि प्रस्थान गरेको थियो ।

बिहिबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तिर्थयात्रुलाई मधेस सरकार, जनकपुरधाम उपमहानरपालिका र जानकी मन्दिरले स्वागत गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, जानकी मन्दिरका सहायक महन्थ रामरोसन दाससहित स्थानीयहरु स्वागतका लागि रेल्वे स्टेशन पुगेका थिए ।

रेल्वे स्टेशनबाट यात्रीहरु जनकपुरधामको विभिन्न होटेलमा गएका छन् । उनीहरुका लागि भारतीय राजदुतावासले जनकपुरधामको विभिन्न होटेल बुक गरेको छ ।

तीर्थयात्रीहरु आज साँझ ६ बजे महागंगा आरतीमा सरिक हुने र त्यहाँबाट जानकी मन्दिर पुगेपछि मन्दिरको प्रांगणमा प्रदेश सरकारले आयोजना गर्ने मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

शुक्रबार बिहान जनकपुरधामको राममन्दिर, जनक मन्दिर लगायतमा दर्शन गरी उनीहरु धनुषाधामस्थित धनुष मन्दिर पुग्ने छन् ।त्यहाँबाट फर्केपछि तीर्थयात्रीहरु बस चढेर भिठामोड हुँदै सीतामढीका लागि प्रस्थान गर्नेछन् ।

जनकपुरधामबाट बस चढेर सीतामढी पुग्ने तीर्थ यात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने बताइएको छ ।

रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मदत पुग्ने व्यवसायीहरुको विश्वास छ ।

हेर्नुहोस् स्वागतका केही तस्बिरहरु :