सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्छ : उमेशप्रसाद थानी

काठमाडौं, ८ असार । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
बुधबार राष्ट्रिय संसद्अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन् ।
उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने बताए ।
कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महसुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताए ।
उनले नेपाल विद्युत प्राधिकरणले दिएको महसुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक्टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक्टन एलपी ग्यास आयात भइसकेको बताए ।
एलपी ग्यासको खपत दिनप्रतिदिन बढिरहेकाले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको बताए । उनले नेपाल आयल निगम प्रतिसिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।समितिको बैठकमा सांसदले विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


