काठमाडौं, ८ असार । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश–अधिवक्ता ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न समिति बनाएको छ ।

बुधबार बसेको न्यायपरिषदको बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ताको अडियो सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न समिति बनाइएको हो ।

मंगलबार साँझ न्युज २४ टिभीले सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनको कुराकानी भएको छ ।

अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेको सुन्न सकिन्छ ।फोनवार्ताका क्रमममा न्यायाधीश कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने भनेका छन् ।

यता, न्यायाधीश कोइरालाले आफूले अनुचित कार्य नगरेको दाबी घटनाबारे न्यायपरिषद्बाट छानिबनमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।

त्यस्तै, नेपाल बार एसोसिएसनले पनि न्यायाधीश र अधिवक्ता बीचको ‘घुस डिल’ प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

बारले बुधबार एक विज्ञप्ति जारी गर्दै सत्य तथ्य छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको हो ।