सर्लाहीमा ढल निकास सम्बन्धी विवादको क्रममा दुई समूहबीच झडप, ८ जना घाइते

सर्लाही, ८ असार । सर्लाहीमा ढल निकास सम्बन्धी विवादको क्रममा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।
मंगलबार राति साढे ९ बजे हरिवन नगरपालिका–११ बालगंगामा ढल निकास सम्बन्धी विवादको क्रममा स्थानीय दुई समूहबीच झडप भएको हो ।
झडपमा परेर स्थानीय अजर मन्जर, आल्म्वीर हुसेन, शेख अस्फाक, मन्जर अलि, मोहमद चाँद, लालबाबु शेख, अप्सा खातुन, मिविन आलमलगायतकाहरु घाइते भएका छन् ।
उनीहरुको हरिवनस्थित नमूना र स्वाभिमान अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए ।
स्थानीयबीच सामान्य विवाद चलिरहँदा हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुब रेजाका भाइ रेहान रेजासहितको समूहले गाउँलेमाथि आक्रमण गरेका आरोप पीडित पक्षको छ ।
घटनाको विरोधमा स्थानीयले गएराति १० बजेदेखि दुई घण्टासम्म पूर्वपश्चिम राजमार्गको हरिवन बजारमा चक्काजाम गरेका थिए ।
सो ठाउँमा ढल निकासको विषयमा केही दिन पहिलादेखि नै स्थानीयबीच सामान्य विवाद चल्दै आएको थियो । मंगलबार साँझ प्रहरी निरिक्षक ताम्राकारकै अगाडि वडाध्यक्ष रेजाका भाइले स्थानीयमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
वडाध्यक्षका भाइसहितको समूहले स्थानीमाथि आक्रमण गर्दा पनि घटनास्थलमै रहेका प्रहरी निरीक्षक ताम्राकार मुकदर्शक बनेको आरोप पीडित पक्षको छ ।
घटना विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ताम्राकारले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


