जिल्ला प्रशासन धनुषाका तत्कालीन नासु गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम, ८ असार । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्वा गणपति झाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप–पत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नायव सुब्बा झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले २ करोड ४४ लाख ७१ हजार १०५ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौंमा झाविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार २०३९÷४० देखि २०७७÷७८ सम्ममा झाको समग्र आयव्यय हेर्दा २ करोड ४२ लाख ६७ हजार १०४ रूपैयाँ देखिएको छ । तर व्ययतर्फ जग्गा खरिद, ऋणको सावाँब्याज, गाडीहरू, घर, अध्ययन खर्चलगायत गरेर ४ करोड ८७ लाख ३८ हजार २१० रूपैयाँ हुन आएको छ । अख्तियारले तत्कालिन नासु झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँको स्रोत नखुलेको जनाएको छ ।
झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी र छोराहरूको नाममा राखेको आयोगले जनाएको छ । आयोगका अनुसार पत्नी मीनादेवी, छोराहरू दिवाकर, शिवाकर र करुणाकरलाई समेत प्रतिवादी बनाएर आरोपपत्र दायर गरिएको हो ।
झा २०३९ मंसिर ९ गते गाविस सचिव पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७८ साउन महिनामा अवकाश पाएका थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्वा गणपति झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज गणपति झा मिति २०३९।०८।०९ मा गा.वि.स.सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही मिति २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिंदा निजको परीक्षण अवधि २०३९/४० देखि २०७७/७८ सम्मको समग्र आय/व्यय हेर्दा आय आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय समेत गरी जम्मा २ दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आयआर्जन गरेको र व्ययतर्फ जग्गा खरिदमा, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिवी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यवसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा, कृषि उपकरण खरिदसमेत गरी ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च तथा लगानी गरेको, यसरी निज गणपति झाको समग्र आय रु.२,४२,६७,१०४।५६ बाट समग्र व्यय रु.४,८७,३८,२१०।०७ घटाउँदा हुन आउने रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एक सय पाँच रुपैया र पैसा एकाउन्न) बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज गणपति झाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सोही दफा १५ ले लक्षित गरेको सोही ऐनको दफा ३ एवं सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज गणपति झालाई बिगो रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ दफा ३ को कसुरमा तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवाना गर्न साथै साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये श्रोत नखुलेको रु.१,७५,१३,३२३।५८ मूल्य बराबरको सम्पत्ति तथा सोही सम्पत्तिमध्ये आंशिक रुपमा श्रोत खुलेको रु.६३,७३,५५५।८१ मूल्य बराबरको सम्पत्ति एवं बाँकी अपुग विगो निज गणपति झाको नाममा रहको नेपाल इन्भेष्टमेण्ट वैङ्क लिमिटेडको मौज्दातबाट रु.५,८४,२२६।१२ समेत गरी जम्मा रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालिस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र) जफत गर्न तथा निज गणपति झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नी मीनादेवी झा एवं एकासगोलका छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मीनादेवी झा, दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई समेत प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


