जनकपुरधाम, ७ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठवटै जिल्लामा सञ्चालन हुने गरि घुम्ती कोभिड–१९ खोप सेवाको शुभारम्भ गरेका छन् ।

मधेशस प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले सञ्चालन गर्न लागेको घुम्ती कोभिड–१९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमकाबीच शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई लक्षितवर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

कोभिड–१९ को भ्याक्सीनले जनजिवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीहरुका साथै बच्चाहरुको लागी समेत घुम्ती सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

घुम्ती सेवाबाट एक लाख व्यक्ती लाभान्वित हुने लक्ष्य लिइएको छ ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साह, महिला, वालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहसहित सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।