काठमाडौं, ७ असार । काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङ रहेका छन् ।

उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

२९ जेठको राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए ।

प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित एक गेष्ट हाउसमा लगेका थिए । त्यहाँ लगेर पीडितलाई पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दिन पीडितले आफूसँग १ लाख नगद, दुई तोला सुन र एउटा मोबाइल पनि बोकेकी थिइन् । बलात्कारपछि तामाङले नगद, सुन र मोबाइलसमेत लुटेर फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए ।