जनकपुरधाम, ६ असार । मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले निमित्त प्रमुखको लापरबाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आयोगका निमित्त कार्यालय प्रमुख दानीकान्त झाको लापरबाहीका कारण आयोगको करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीहरुको आरोप छ ।

आयोगका अध्यक्ष रामसहाय यादवले निमित्त प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकोले करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोग नयाँ संरचना रहेको भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी, लगायतका सामान खरिदको २० लाख, कुर्सी टेबललगायतका फर्निचर सामान खरिदको लागि २० लाख, ४ वटा सवारी खरिदको ३ करोड रकम कार्यालय प्रमुखको लापरवाहीका कारण फ्रिज हुने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए ।

सवारी खरिदका लागि जेठ ५ गते टेण्डर गरिए पनि अन्य सामान खरिदका लागि टेण्डर गर्न प्रमुख झाले आनाकानी गरिरहेको उनीहरुको भनाइ छ । भवन मर्मत सम्भारको लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएको छ । तर समयमा टेण्डर नगर्दा त्यसको पनि १० लाख रकम फ्रिज हुने अवस्थामा पुगेको उनले बताए ।

इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि मुख्यमन्त्री कार्यालयका प्राविधिकले प्रक्रिया अगाडि बढाइसकेकोमा झा भने टेण्डर निकाली कोटेशनको भरमा सामान खरिद गर्ने दाउमा रहेको उनले बताए ।