काठमाडौं, ६ असार । सार्वजनिक सवारीसाधनको भाडा फेरि बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडा पनि बढेको हो । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्था छ ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत छ । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।

बढेको मूल्यअनुसार पेट्रोललाई एक लिटरमा १ सय ९९ रुपैयाँ पर्ने भएको छ । त्यस्तै डिजल र मट्टितेलको मूल्य १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।