काठमाडौं, ६ असार । गृहमन्त्री बालकृष्ण खाणँले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गर्न आग्रह गरेका छन् ।

आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) लाई सम्बोधन गर्दै उनले कुनै पनि द्वेषभाव र मनमुटाव नराखी एक आपसमा सद्भाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताएका हुन् ।

योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने समेत उनले जनाए । गृहमन्त्री खाँणले जीवनलाई शान्त, फलदायी र उत्पादनमुलक बनाउन योग प्रभावकारी सिद्ध भएको उल्लेख गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फुर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए ।