सिरहाबाट ठूलो मात्रामा लागूऔषधसहित तीनजना पक्राउ

सिरहा, ६ असार । प्रहरीले सिरहाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान–५ मा बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही–१ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान–७ बस्ने दयाराम ठाकुरका १८ वर्षीय छोरा गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आइतवार राति ११ बजे ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका–८ स्थित मो. अफजतले संचालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
प्रहरीले पसल र घरबाट फेनारगन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


