काठमाडौं, ५ असार । नक्कली नागरिकता बनाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जग्गा कीर्ते गरेको अभियोगमा दार्चुलाका महावीर चन्दसहित ५ जनालाई पक्राउ गरेको हो ।

दार्चुलाको साविक उकु गाविस वडा नम्बर–६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई टोखा बस्ने ५२ वर्षीय महावीर चन्दले तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट किर्ते नागरिकताको प्रमाण पत्र बनाई ७ करोड रुपैयाँ बाराबरको जग्गा कीर्ते गरी ठगी गरेको ब्यूरोले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो कार्यमा संलग्न अन्य ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घटनाक्रमअनुसार शान्ता देवी लोहनी सपरिवार विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् । बेला बखतमा मात्र नेपाल आउने क्रममा २०६१ सालमा कीर्तिपुरमा उनले जग्गा खरिद गरेर जापान गएकी थिइन् । पछि १९ मे २०२२ मा नेपाल आई मालपोत कार्यालय कलंकीमा सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उनको जग्गा अर्कैको नाममा पुगेको खुलासा भएको थियो ।

मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको जानकारी गरायो । त्यसपश्चात पनि उक्त जग्गा तारानिधि लोहनीको नामबाट २०७७ फागुन १० गते विक्री भई सुनिता कर्माचार्यको नाममा गएको थियो । उक्त जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जा बिना किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्मचार्यलाई ३ करोड ७० लाखमा २०७७ फागुन १० गते विक्री भएको देखिएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

–रातोपाटी