झापा, ५ असार । संयुक्त अरब इमिरेट्स (युएई) का अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको भनिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश कुमार भट्टराईले अधिराजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताएका हुन् ।

‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्ड विपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रु सरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थल स्थित भन्सार कार्यालय अनभिज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।