वडाध्यक्ष धोवीले व्यापारीहरूसँग अनावश्यक विवाद सिर्जना गरेको लोसपाको आरोप

बारा, ५ असार । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष इब्राहिम मिया धोवीले बजार व्यवस्थापनका नाममा व्यापारीहरूसँग अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाइएको छ ।
परवानीपुर गाउँपालिका वडा नम्बर–३ अन्तर्गत रहेको गुदरी बजार व्यवस्थापनका नाममा व्यापारीहरूसँग राजनीतिक पूर्वाग्राही राखी वडाध्यक्ष धोबीले विवाद खडा गरिरहेको आरोप लगाइएको हो ।
वडाध्यक्ष धोबीले परवानीपुर बजारमा वर्षौंदेखि व्यवसाय गर्दै आएका व्यापारीहरूसँग बजार व्यवस्थापनका नाममा अनावश्यक विवाद सिर्जना गरेको भन्दै आइतबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उनीमाथि कारवाहीको माग गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मिलाई ज्ञापनपत्र बुझाएको छ ।
गत असार २ गतेका दिन अर्को सूचना नहुन्जेल सम्म वडाको सार्वजनिक जग्गामा खुद्रा व्यापार नगर्न केहि व्यापारीहरूसँग राजनीतिक पूर्वाग्रही राखी वडाध्यक्ष धोबीले सूचना जारी गरेका थिए ।

व्यवसाय संचालन भईरहेको अवस्थामा बिहान ८ बजेको समयमा उक्त बजारमा रहेको पसलेहरूको डिजिटल तराजु, आलु प्याज, खाने तेल, दाल, हरियो सब्जी र नगद समेत आफ्नो कब्जामा लिई र बाँकी रहेको सामानहरू जथाभावी यत्रतत्र फालेर व्यापारीहरूसँग झै–झगडा र हो–हल्ला मचाई त्रसित बनाएर बजारलाई अस्तव्यस्त गरेको लोसपाको आरोप छ ।
ज्ञापनपत्रमा वडाध्यक्ष धोबीको उक्त सूचनाले व्यापार व्यवसाय गर्ने पाउने सम्बन्धी नेपालको संविधान २०७२ मा दिएको मौलिक हक अधिकार अन्तर्गतको धारा १७ मा स्वतन्त्रताको हक सम्बन्धी व्यापार, व्यवसाय गर्न पाउने नागरिकको अधिकारमा समेत आघात पुर्याएको तथा सरकारी लेटर प्याडको गलत दुरूपयोग गरी आफ्नो अधिकार समेत दुरूपयोग गरेकोले यस्ता कार्यहरू रोक्न माग गरिएको छ ।
वडाध्यक्ष धोबी हाल फरक राजनीतिक दलबाट निर्वाचित भएकोले राजनीतिक पूर्वाग्रहबाट यस्तो सूचना जारी गरेको लोसपाको जिकिर छ । यस्तो सूचना जारी गर्ने वडाध्यक्ष उपर कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्नुका साथै व्यापारीहरूलाई व्यवसाय गर्न पाउने अधिकार संरक्षण गर्न तथा व्यापारीहरूको नगद जिन्सी मालसामान निजसँग फिर्ता दिलाउनसमेत लोसपाले माग गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


