सिरहा, ५ असार । सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका–१ बस्ने २६ वर्षीय गोपाल पूर्वे रहेको प्रहरीले जनाएको छ ।

आइतवार विहान गोलबजार–६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोक्किंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याएलगत्तै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।