एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भइरहेको सिंहको टिप्पणी

काठमाडौं, ४ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणाम पछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन् ।
काभ्रेको बनेपामा काँग्रेस बनेपा नगर समितिले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।
अहिले एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भइरहेको समेत उनको भनाई थियो । विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको आरोप लगाउँदै उनले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास भएको बताए । काँग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने समेत सिंहले बताए ।
प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनिरहँदा समेत नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गरेर एमाले आफैं फसेको नेता सिंहको भनाई थियो । काँग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने सिंहले बताए । निर्वाचित जन प्रतिनिधिलाई उनले पार्टीका कमिटीसितको छलफल र सुझाव लिएर मात्र काम गर्न आग्रह गर्दै पार्टी कमिटीले पनि निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
काँग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धनमा जानु परेको उनको भनाई थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, काँग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा, बनेपा नगरपालिकाका मेयर शान्तिकृष्ण शाक्य लगायतले धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


